टेस्ला कम्पनीका कार अब बिटक्वाइनबाट पनि खरिद गर्न सकिने भएको छ। कम्पनीका प्रमुख एलन मस्कले डिजिटल मुद्राबाटै कारहरु खरिद गर्न सकिने बताएका हुन्।
बिटक्वाइनमा असाध्यै रुचि राख्ने मस्कले सामाजिक सञ्जाल ट्विटरबाट यस्तो घोषणा गरेका हुन्। बिटक्वाइन मूल्य पनि हरेक दिन फरक फरक हुनेछ। टेस्लाले भर्चुअल मुद्रामा ठूलै लगानी गरिसकेको छ। उसले केही समयअघि मात्रै डेढ अर्ब अमेरिकी डलर मूल्यको बिटक्वाइन खरिद गरेको थियो।
मस्कको उक्त घोषणापछि बुधबार पुनः बिटक्वाइनको मूल्य आकाशिएको बीबीसीले जनाएको छ। मस्कले टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर ल्याएर बिटक्वाइन भुक्तानीको व्यवस्थापन गर्ने तयारी गरेको समेत बताएका छन्। त्यसैले सिधै बिटक्वाइन नोड्स सञ्चालन गर्नेछ। मस्कका अनुसार टेस्लालाई भुक्तानीमा दिइने बिटक्वाइन बिटक्वाइनकै रुपमा रहनेछ। सरकारी नियन्त्रण रहने मुद्रामा विनिमय हुनेछैन।
अमेरिकामा नयाँ टेस्ला कार सय डलर मूल्यबराबरको बिटक्वाइनसँगै अर्डर समेत गर्न सकिने भएको छ। यो सुविधा अब अन्य देशमा पनि उपलब्ध हुने मस्कले बताएका छन्।