काठमाडौ/सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ । बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पराजय भोगेको सत्तारुढ एमाले लुम्बिनीमा पनि कमजोर देखिएको छ ।
अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।
पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेश सभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए ।
सत्ता पक्ष र विपक्षीबीच केन्द्रसँगै प्रायः सबै प्रदेशमा सरकार फेरबदलको खिचातानी चलिरहेको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले ८ जेठमा संसद् विघटन गरेर नयाँ निर्वाचनको घोषणा गरेसँगै सत्ता पक्ष र विपक्षीहरूको ध्रुवीकरण थप पेचिलो बनेको छ । यसैको परिणाम बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापाले विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग हार व्यहोरेका थिए । त्यसमा एमालेकै झलनाथ खनाल र माधव नेपाल पक्षको साथ रहेको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा परिणाम ल्याउन कोसिस गरिरहेका छन् । एमालेका केन्द्रीय तहका नेतादेखि प्रदेश कमिटी अध्यक्ष लीला गिरीसम्म चुनावी परिणाम आफ्नो पक्षमा निकाल्ने प्रयासमा छन् । तर, विपक्षी गठबन्धनले भने आफ्ना उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरभित्रै तीनवटा केन्द्र रहेका छन् ।