काठमाडौ/ काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत संक्रमितहरु चितवन ल्याउन थालिएको छ। यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट संक्रमित ल्याउने क्रम बढेको हो।
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ। यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी संक्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौंबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक संक्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ। आज मात्रै एक संक्रमितलाई काठमाडौंबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उनले जानकारी दिए।
उनका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने संक्रमितको संख्या ठूलो छ। उनले भने, ‘यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौंलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन्।’
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउँछन्। उनले भने, ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ। सके र भएसम्म हामी जुटिरहेका छौं।’
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए। आज मात्रै मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको जानकारी दिए।
जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकोप्टरमा समेत बिरामी आएको भन्दै उनले सामान्य अवस्थाका संक्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बतां। प्रजिअ लामिछानेले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि संक्रमितको उपचार थाल्ने जानकारी दिए। अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ।
जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ संक्रमितको उपचार भइरहेको छ। तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा ६, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ।रासस