काठमाडौं /चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका छन् ।
त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरेकि छन् ।
कोभिड–१९विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरेकि छन् । नेपाललाई चीनबाट कोभिड–१९विरुद्धको खोप खरीदमा सहजीकरणका निम्ति पनि उनले आग्रह गरिन ।
दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताए । उहाँले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिईएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।