काठमाडौं /आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ । कोरोना महामारीको प्रकोप र निषेधाज्ञा कडा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । गणतन्त्र घोषणा भएका १३ वर्ष बितेर गए पनि मुलुक र जनताले उल्लेख्य प्रगतिको आभाससम्म गर्न पाएका छैनन् । गणतन्त्रपछिका करिब ७ वर्ष संविधान बनाउने कचिंगलमै बितेर गएका थिए । पहिलो संविधानसभा विना उपलब्धि असफल भएपछि जनतामा थप निराशा चुलिएको थियो ।
तर दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि र मुलुक संघीयतामा गएपछि सर्वत्र खुसीयाली र नयाँ आशा छाएको थियो । तापनि त्यसयता समेत सत्ताकै लागि राजनीतिक दलहरुमा हानाथाप जारी रहेकाले मुलुकमा स्थिरता समृद्धिको आशा निरर्थक भइरहेको छ ।