काठमाडौँ / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । शनिबार इराकको बसरामा आयोजित खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो ।
खेलको ७औं मिनेटमा इराकले कप्तान अला अब्दुल जहर खासिनको गोलमा अग्रता बनाएको थियो । तर त्यसको एक मिनेटमै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।
मनीषले अन्तर्राष्ट्रिय खेलमा शनिबार नै डेब्यु गरेका हुन् । खेलको ३५औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काए । त्यसलगत्तै नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै इराकका लागि अयमन हुसेनले गोल गरे । त्यस्तै इराकका लागि ६७औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५औं मिनेटमा सज्जाद जसिमले गोल गरे ।
विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १७१औं स्थानमा रहेको नेपाली फुटबल टिमले १०३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।